काठमाडौं । नेपाल पत्रकार महासंघले निजी सञ्चार माध्यमलाई लक्षित गर्दै सरकारी विज्ञापन रोक्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ। महासंघले उक्त निर्णयलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको अंकुश लगाउने प्रयास भन्दै कडा शब्दमा आलोचना गरेको छ। सरकारी निर्णयबारे कुनै पनि प्रकारको सामान्य छलफल समेत नभएको भन्दै महासंघले असन्तुष्टि व्यक्त गरेको छ।
महासंघकी अध्यक्ष निर्मला शर्माले सामाजिक सञ्जालमा भनेकी छिन्,‘महासंघका अनुसार नेपालको संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि असर पर्ने खालका यस्ता निर्णय लोकतान्त्रिक मूल्य–मान्यताविपरीत छन् ।’ निजी सञ्चार माध्यमहरूले लोकतन्त्र सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्दै महासंघले निर्णय सच्याउन सरकारसँग माग गरेको छ। महासंघले आवश्यक परे देशव्यापी आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ ।

