काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ साउन २६ गते बसेको बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ। सरकारले विद्युतीय एम्बुलेन्स तथा शव वाहनलाई कर छुट दिने, चार जनालाई सहिद घोषणा गर्ने र एनसेलको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको हो।
विद्युतीय एम्बुलेन्स र शव वाहनलाई पूर्ण कर छुट
मन्त्रिपरिषद्ले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युत्बाट सञ्चालन हुने एम्बुलेन्स र शव वाहनमा स्वच्छ पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ।
विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले यस्तो व्यवस्था गरेको जनाएको छ।
सुनसरी र सिराहाका चार जना सहिद घोषणा
बैठकले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ।
सहिद घोषणा हुनेमा सुनसरीका ओम प्रकाश मेहता, जय प्रकाश मेहता र रविन्द्र कुमार मेहता तथा सिराहाका गनेश कुमार यादव रहेका छन्।
पोर्चुगललाई काठमाडौंमा कन्सुलर कार्यालय खोल्न अनुमति
मन्त्रिपरिषद्ले पोर्चुगल सरकारलाई काठमाडौंमा कन्सुलर कार्यालय स्थापना गर्न सहमति प्रदान गर्ने निर्णय पनि गरेको छ। कार्यालय स्थापना भएपछि नेपालमा रहेका पोर्चुगलका नागरिक तथा सम्बन्धित सेवाग्राहीलाई कन्सुलर सेवा लिन सहज हुने अपेक्षा गरिएको छ।
वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा उप्रेती
सरकारले बाराका निर्मल कुमार उप्रेतीलाई वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको छ।
एनसेल शेयर कारोबारसम्बन्धी प्रतिवेदन सार्वजनिक हुने
मन्त्रिपरिषद्ले पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित एनसेलको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० सार्वजनिक गर्ने निर्णय गरेको छ।
एनसेलको शेयर खरिद–बिक्रीसम्बन्धी विषयमा गठित अध्ययन तथा छानबिन समितिले तयार पारेको प्रतिवेदन सरकारले सार्वजनिक गर्ने निर्णय गरेसँगै लामो समयदेखि चर्चामा रहेको उक्त विषयमा थप विवरण सार्वजनिक हुने बाटो खुलेको छ।

