काठमाडौं । वर्षा तथा हिमपातका कारण सम्भावित विपद्को जोखिम बढ्न सक्ने भन्दै मनाङको चामे गाउँपालिका–४ चामे बजार क्षेत्रमा स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।
बुधबार चामे बजार क्षेत्रमा माइकिङ गरी स्थानीय जनसमुदायलाई सम्भावित जोखिमबारे जानकारी गराइएको हो।
कात्तिक १२ र १३ गते वर्षा तथा हिमपात हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सम्भावित विपद्जन्य घटना हुन नदिन स्थानीयलाई आवश्यक सतर्कता अपनाउन सचेत गराइएको जनाइएको छ।
सम्भावित प्रतिकूल मौसमलाई ध्यानमा राख्दै जोखिमयुक्त स्थानमा आवतजावत गर्दा सावधानी अपनाउन तथा मौसमसम्बन्धी सूचनामा ध्यान दिनु आवश्यक छ।

