काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले यही कात्तिक १५ गतेदेखि शुल्क तिर्नुपर्ने भएको छ। नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सूचना जारी गर्दै सुरुङमार्ग प्रयोग गरेबापत सवारीसाधनको वर्गअनुसार सडक उपभोग शुल्क लिइने जनाएको हो।
सडक बोर्ड नेपालको कार्यकारी समितिको असोज १२ गतेको निर्णय तथा नेपाल राजपत्रमा २०८२ चैत २६ गते प्रकाशित सूचनाअनुसार सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क लिने व्यवस्था गरिएको हो।
सूचनाअनुसार वर्ग १ अन्तर्गतका कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ।
त्यस्तै, वर्ग २ अन्तर्गतका मिनी बस, मिनी टिपर तथा ट्रकले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्नेछ।
वर्ग ३ अन्तर्गतका बस तथा ट्रकले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा २०० रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।
यसैगरी, वर्ग ४ अन्तर्गतका मल्टी एक्सल ट्रक, सवारीसाधन तथा भारी उपकरणले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क तिर्नुपर्ने आयोजनाले जनाएको छ।
नयाँ व्यवस्थासँगै नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आफ्नो वर्ग र यात्राको दिशाअनुसार निर्धारित शुल्क बुझाउनुपर्नेछ।

