काठमाडौं । शेयर बजारमा लगातार तेस्रो कारोबार दिन पनि सुधार देखिएको छ। बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१.५४ अंकले बढेर २६९५ बिन्दुमा पुगेको छ। बजारमा निरन्तर सुधार देखिएसँगै लगानीकर्ताको मनोबलसमेत बढ्दै गएको छ।
दशैंपछिका चार कारोबार दिनमध्ये पहिलो दिन सामान्य गिरावट आएको बजार त्यसयता लगातार उकालो लागेको हो। पछिल्लो समय नियामक निकायका नीतिगत व्यवस्थालाई लिएर लगानीकर्तामा अन्योल सिर्जना हुँदा दबाबमा परेको बजारले पुनः गति लिन थालेको छ।
बिहीबार ३५० कम्पनीको २ करोड ३२ हजार कित्ता शेयर किनबेच हुँदा कुल ८ अर्ब ५५ करोड रुपैयाँको कारोबार भएको छ। यस दिन १३ वटै उपसूचकमा सुधार देखिएको छ। विशेषगरी वाणिज्य बैंक तथा होटल र पर्यटन समूहका शेयर मूल्यमा वृद्धि भएको छ।
आज १८१ कम्पनीको शेयर मूल्य बढेको छ भने ९१ कम्पनीको घटेको छ। बाँकी कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन।
पछिल्लो समय कुनै व्यक्ति वा संस्थाले एकैपटक वा पटक–पटक गरी एक दिनमा १० लाख रुपैयाँ वा सोभन्दा बढीको धितोपत्र कारोबार गरेमा सम्बन्धित सूचक संस्थाले कारोबार भएको मितिले १५ दिनभित्र वित्तीय जानकारी इकाईले तोकेको प्रणालीमार्फत विवरण उपलब्ध गराउनुपर्ने व्यवस्थालाई लिएर बजारमा विभिन्न हल्ला फैलिएका थिए। यसले लगानीकर्तामा अन्योल बढाएको थियो। यद्यपि, नीतिगत व्यवस्थाबारे स्पष्टता बढ्दै जाँदा बजारमा सकारात्मक प्रभाव देखिन थालेको छ।
यसैगरी, बैंकको ब्याजदर निरन्तर घट्दै जानु पनि शेयर बजारका लागि सकारात्मक पक्ष मानिएको छ। ब्याजदर घट्दा कर्जाको लागत कम हुने र शेयर बजारमा लगानीको आकर्षण बढ्न सक्ने अपेक्षा गरिएको छ। बैंक तथा वित्तीय संस्थाहरूको शेयर धितो कर्जामा सक्रियताले समेत बजारमा लगानीयोग्य रकमको प्रवाह बढाउन सक्ने सम्भावना छ।
नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र अर्थ मन्त्रालयका नीतिगत व्यवस्थाले बजारलाई सकारात्मक दिशातर्फ अघि बढाउन सहयोग पुग्ने अपेक्षा लगानीकर्ताले गरेका छन्। ब्याजदरमा गिरावट, कर्जाको सहज उपलब्धता र नीतिगत अन्योलमा कमी आउन सकेमा बजारले आगामी दिनमा थप गति लिन सक्ने अनुमान गरिएको छ।
तर, बजारमा निरन्तर सुधार देखिएकै आधारमा हतारमा लगानीको निर्णय लिनु उपयुक्त हुँदैन। कम्पनीको वित्तीय अवस्था, नाफा–नोक्सान, प्रतिसेयर आम्दानी, ऋणको भार र भविष्यको व्यावसायिक सम्भावनाको विश्लेषण गरेर मात्रै लगानी गर्नुपर्ने जानकारहरूको सुझाव छ। बजार बढ्न थालेकै आधारमा कमजोर वित्तीय अवस्था भएका कम्पनीमा लगानी गर्दा जोखिम बढ्न सक्ने भएकाले शेयर मूल्य र सम्भावित प्रतिफललाई समेत ध्यान दिन आवश्यक छ।

