काठमाडौं । १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक घटनाबारे गृहमन्त्री रमेश लेखकले संसदीय समितिमा जवाफ दिएका छन् । मन्त्री लेखकले शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा यसबारे जवाफ दिएका हुन् ।
उनले राजतन्त्र पक्षधरहरूले तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेको बताए । तीनकुनेको प्रदर्शन हिंसात्मक, अमानवीय र उच्छृङ्खल बनेको लेखकको भनाइ छ । यसको जिम्मेवारी आयोजकले लिनुपर्ने उनले बताए । संविधान मास्ने र व्यवस्था उल्ट्याउने मनसायले उक्त प्रदर्शन भएको उनको भनाइ छ ।
‘यो नियोजित रूपमा अराजकता फैलाउने काम नै हो । यसमा कुनै विवाद छैन । सुरक्षाकर्मीमाथि गाडी गुडाउनेसम्मको प्रयास क्षम्य हुँदैन । यसको जिम्मेवारी सबै आयोजकले लिनुपर्छ,’ लेखकले भने, ‘घरमा मान्छे छ भन्ने थाहा पाउँदापाउँदै आगो लगाउने काम भयो ।’
उनले उक्त घटनाका मृतकका परिवारलाई १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको जानकारी दिए । ७ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिकै कारण पोखराबाट फर्किंदा उनको स्वागत भएको बताए । सोही स्वागतमा हौसिएकाहरूले १५ चैतमा प्रदर्शन गरेका थिए ।
गृहमन्त्री लेखकले सोही दिन समाजवादी मोर्चाले आयोजना गरेको प्रदर्शन भने सभ्य र भव्य भएको बताए । कार्यक्रम सभ्य बनाएको भन्दै उनले मोर्चालाई धन्यवाद पनि दिए । ‘समाजवादी मोर्चाको सभ्य र भव्य ढंगले भयो । समाजवादी मोर्चाका साथीहरूलाई धन्यवाद दिन चाहान्छु । शान्तिपूर्ण विरोध प्रदर्शनको नमुना थियो,’ उनले भने ।