काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ट्रान्सक्रिप्ट र प्रोभिजनल प्रमाणपत्रका लागि अब परीक्षा नियन्त्रण कार्यालयमा भौतिकरुपमा उपस्थित हुनैपर्ने बाध्यता हटेको छ ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आज बिहान ११ बजेदेखि अनलाइन सेवा सुरु गरिएको हो । अनलाइन सेवा सुरु भएपछि परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेर अब कागजी फारम भर्ने र त्यो बुझाउन लाइन लाग्नुपर्ने झन्झटबाट मुक्ति मिल्ने छ ।
‘आज २०८२ वैशाख २ गते बिहान ११ बजेदेखि त्रिभुवन विश्वविद्यालयले ट्रान्सक्रिप्ट र प्रोभिजनल प्रमाणपत्रका लागि अनलाइनबाट आवेदन सञ्चालन गरेको छ,’ सूचनामा भनिएको छ, ‘हालका लागि भुक्तानी कनेक्ट आइपीएसबाट गर्न सकिनेछ र क्रमशः अन्य भुक्तानी गेटवेहरू समेत समावेश गर्दै जाने जानकारी त्रिभुवन विश्वविद्यालयले दिएको छ ।’
तत्कालका लागि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवदेनका लागि अनलाइन सेवा सुरु गरिएको र अन्य सेवाहरु क्रमशः लागू गर्दै लैजाने योजना रहेको उनले बताए ।
अनलाइन फारम भर्नका लागि student.tuexam.edu.np मा लगइन गरी दिइएको निर्देशन अनुसार फारम भर्न सकिन्छ । साथै तोकिएको शुल्क संलग्न बैंक मार्फत् अनलाइनबाट भुक्तानी गरी सबमिट पनि गर्न सकिने छ ।
त्रिभुवन विश्वविद्यालयले यसअघि २०८० माघ १५ देखि प्रमाणपत्रको फाराम अनलाइनबाट भर्न मिल्ने सुविधा सुरु गरेको थियो । तर, अनलाइन सेवा सार्वजनिक भएको भोलिपल्टै वेबसाइट ह्याक भएपछि उक्त सेवा अवरुद्ध भएको थियो ।