काठमाडौं । नेपाल राष्ट्र बैंकले १ हजार रुपैयाँ दरको नयाँ बैंकनोट प्रचलनमा ल्याएको छ। बैंकले आज असोज ८ गतेदेखि सिरिज २०२५ को १ हजार रुपैयाँ दरको नोट चलनचल्तीमा ल्याएको हो।
नयाँ नोट साविककै आकारमा रहेको छ भने यसको रङ्ग परिवर्तन गरिएको छ। नोट बैजनी रङ्गको घेराभित्र फिक्का हरियो देखिने गरी तयार गरिएको छ। यसको सङ्केत नं. ९२ ०००००१ देखि ९९ ९९९९९९ सम्म रहेको छ।
नोटको अग्र भागको मध्य खण्डमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १००० रुपैयाँ एक हजार तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञामूलक वाक्यांश राखिएको छ।
नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र र दायाँतर्फ लालीगुराँसको पानीछाप राखिएको छ। पानीछापको मुनि ‘1000’ अंकसमेत रहेको छ। त्यस्तै, दायाँतर्फ निलो रङ्गमा ‘1000’ को केही अंश देखिने See Through Register राखिएको छ, जसलाई प्रकाशतर्फ पारेर हेर्दा ‘1000’ पूर्ण रूपमा देखिन्छ।
दृष्टिविहीन व्यक्तिले स्पर्शमार्फत नोट पहिचान गर्न सहज होस् भनेर दायाँतर्फको तल्लो भागमा एक हजार जनाउने रोमन अक्षर ‘M’ राखिएको छ। सगरमाथा हिमालको बायाँतर्फ र पानीछापको दायाँतर्फ १०/१० वटा तेर्सा रेखा (Angular Lines) राखिएका छन्।
सगरमाथा हिमालको दायाँतर्फ अण्डाकार आकृतिभित्र भगवतीको चित्र राखिएको छ। उक्त चित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिन्छ।
नोटमा ३.५ मिलिमिटर चौडाइको सुरक्षण धागो प्रयोग गरिएको छ। सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिने उक्त चलायमान सुरक्षण धागोमा ‘NRB’ र ‘1000’ अंक राखिएको छ। नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ भने तल्लो खण्डमा सिरिज नम्बर ‘वि.सं. २०८२’ उल्लेख गरिएको छ।
नोटको पृष्ठ भागको मध्य खण्डमा चितवनस्थित सरकारी हात्तीसारमा देवकली नामक हात्तीबाट जन्मिएका राम र लक्ष्मण नामका दुर्लभ मानिने जुम्ल्याहा हात्तीको चित्र राखिएको छ। चित्रको माथि ‘NEPAL RASTRA BANK’ लेखिएको छ।
पृष्ठ भागको बायाँतर्फ पनि निलो रङ्गमा ‘1000’ को केही अंश देखिने See Through Register राखिएको छ, जसलाई प्रकाशतर्फ पारेर हेर्दा ‘1000’ पूर्ण रूपमा देखिन्छ। पानीछापको दायाँतर्फ नेपालको सात प्रदेशलाई जनाउने गरी सातवटा लालीगुराँसका चित्र राखिएका छन्।
त्यस्तै, दायाँतर्फ ‘RUPEES ONE THOUSAND’ लेखिएको छ भने हनुमानढोकास्थित ल्होंचोकमा रहेको ऐतिहासिक महत्वको थाम (Pillar) को आकृति राखिएको छ। नोटको तल्लो भागको बोर्डरमा सिरिज नम्बर ‘2025 A.D.’ उल्लेख गरिएको छ।
राष्ट्र बैंकका अनुसार यसअघि २०७७ साउन ७ गतेदेखि १ हजार रुपैयाँ दरको सिरिज २०१९ को बैंकनोट सङ्केत नं. ६८ ०००००१ देखि १०० ९९९९९९ सम्म चलनचल्तीमा ल्याउने सूचना प्रकाशित गरिएको थियो। तर सोमध्ये ६८ ०००००१ देखि ९१ ४४०००० सम्मका नोट मात्र चलनचल्तीमा ल्याइएकाले नयाँ सिरिज २०२५ को बैंकनोट सङ्केत नं. ९२ ०००००१ बाट सुरु गरिएको राष्ट्र बैंकले जनाएको छ।

