काठमाडौं । नेपाली सेनाले बाढीपहिरो प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म ४ हजार २४२ जनाको हवाई उद्धार गरेको छ। आश्विन ८ गते साँझ ६ बजेसम्मको विवरणअनुसार उद्धार गरिएकामध्ये ३ हजार ९५९ जना नेपाली र २८३ जना विदेशी नागरिक रहेका छन्।
नेपाली सेनाले रसुवा र नुवाकोटका प्रभावित क्षेत्रमा पैदल गस्तीमार्फत खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ। त्रिशूली पारी कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, कालिकास्थान र मान्चेतलगायतका क्षेत्रमा बेस स्थापना गरी खोजी कार्य भइरहेको सेनाले जनाएको छ।
सडक सम्पर्कबाट विच्छेद भएका तथा दुर्गम प्रभावित क्षेत्रमा ड्रोनमार्फत राहत तथा अत्यावश्यक सामग्री ढुवानी भइरहेको छ। नेपाली सेनाका ड्रोनमार्फत नुवाकोट र रसुवाका विभिन्न स्थानमा हालसम्म ३६ हजार ३१७ किलो राहत तथा अत्यावश्यक सामग्री ढुवानी गरिएको छ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमका प्रभावित क्षेत्रमा नेपाली सेनाका ८ हजार २०० भन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालित छन्। उनीहरूले खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारलगायतका काम गरिरहेका छन्।
यसैबीच, बेत्रावती नदीमा पुल जडानका लागि उत्तरगया स्कुलदेखि बेत्रावती पुल खण्डमा रक कटिङ तथा ब्लास्टिङ गरी करिब २०० मिटर ट्रयाक खोलिएको छ। उक्त ट्रयाक करिब १.५ मिटर उचाइ र ४.५ मिटर चौडाइको रहेको नेपाली सेनाले जनाएको छ।
नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलमार्फत आज १० जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ। हालसम्म उक्त सेवाबाट ४ हजार ४१ जना लाभान्वित भएका छन्।

