काठमाडौं । काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने भएको छ। महानगरले दुई प्रमुख रुटमा ४ वटा विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको छ। पहिलो रुट लगनखेलदेखि बुढानीलकण्ठसम्म सञ्चालन हुनेछ, जसले पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल र गंगालाल हृदय केन्द्रजस्ता स्वास्थ्य संस्थाहरूलाई जोड्नेछ। यो रुट करिब १६ किलोमिटरको उत्तर–दक्षिण एकतर्फी हुनेछ।
दोस्रो रुट थानकोटदेखि अन्तर्राष्ट्रिय विमानस्थलसम्म रहनेछ, जसले सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बानेश्वर, मीनभवन र तीनकुने हुँदै पूर्व–पश्चिम दिशामा करिब २० किलोमिटर दूरी कभर गर्नेछ।
बसहरू राति ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछन् र प्रत्येक २० मिनेटको अन्तरमा बस उपलब्ध हुने व्यवस्था मिलाइनेछ।
महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल का अनुसार सार्वजनिक यातायातको अभावका कारण यात्रुहरू महँगो यात्रा गर्न बाध्य भइरहेका छन्। साथै, विशेषगरी महिला, किशोरी र विद्यार्थीहरूले सुरक्षासम्बन्धी समस्या र आर्थिक भार व्यहोर्नुपरेको अवस्थालाई सम्बोधन गर्न यो सेवा सुरु गर्न लागिएको हो।
बसमा सीसीटीभी क्यामेरा जडान गरिनेछ भने सुरक्षाका लागि नगर प्रहरी पनि परिचालन गरिनेछ। महानगरले सेवा सुरक्षित, सहज, आधुनिक र दिगो बनाउने लक्ष्य लिएको छ र भविष्यमा थप साझेदारीका लागि खुला रहेको जनाएको छ।

