सरकार नयाँ जनादेशअनुसार गठन भएपछि प्रहरी प्रशासनले गुण्डागर्दीविरुद्ध विशेष अभियान सुरु गरेको छ। अभियान सुरु गरेसँगै गुण्डागर्दीमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त सक्रियतामा विभिन्न स्थानबाट गुण्डागर्दीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको हो।
अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार शुक्रबार राति मात्रै उपत्यकाका विभिन्न स्थानबाट १३ जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए। कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा अशोक गिरी, सञ्जीव लामा, सुरेश गुरुङ, किमजोङ बोस लगायत रहेका छन्।
यसैबीच, जिल्ला प्रहरी परिसर काठमाडौंले पनि थप ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ। परिसरले श्याम लामा समूहसँग सम्बन्धित प्रविण गुरुङ, बाफल क्षेत्रमा गुण्डागर्दी गर्दै आएको आरोपमा बिर्जु महर्जन, कलंकी क्षेत्रका सुनज कार्की तथा स्युचाटार क्षेत्रका सरु हुमागाईंलाई पक्राउ गरेको हो।
प्रहरीले पछिल्लो समय विभिन्न सरकारी कार्यालयहरूमा सक्रिय रहेका बिचौलियाहरूलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ। सरकारी कार्यालयहरूमा बिचौलियाको बिगबिगी बढेको गुनासो आएपछि प्रहरीले त्यसविरुद्ध पनि विशेष निगरानी बढाएको जनाएको छ।

