काठमाडौं । अब्बास अराघची ले स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खोलिएको घोषणा गरेका छन्। उनले लेबनानमा भएको युद्धविराम जारी रहँदासम्म सबै व्यावसायिक जहाजहरूको आवतजावत निर्बाध रहने बताएका हुन्।
अराघचीले सामाजिक सञ्जाल एक्समार्फतमार्फत लेख्दै युद्धविरामको अवधिभर उक्त महत्वपूर्ण जलमार्ग पूर्ण रूपमा खुला रहने स्पष्ट पारेका छन्। यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत इरानको निर्णयलाई स्वागत गर्दै धन्यवाद व्यक्त गरेका छन्।
यसअघि इरानले ओमानतर्फको जलमार्ग प्रयोग गरेर आवतजावत गर्ने प्रस्ताव अघि सारेको थियो भने ट्रम्पले हर्मुज नखोले नाकाबन्दी लगाउने चेतावनी दिएका थिए।
इरानले पछिल्ला हप्ताहरूमा जलमार्ग प्रयोगबापत शुल्क लिने र आफ्नो सार्वभौमसत्ता लागू गर्ने योजना अघि सारेपछि अन्तर्राष्ट्रिय स्तरमा विवाद बढेको थियो। अन्तर्राष्ट्रिय समुद्री संगठनका बैठकमा समेत सदस्य राष्ट्रहरूले उक्त कदमलाई खतरनाक नजिर भन्दै विरोध जनाएका थिए।
विश्व ऊर्जा आपूर्तिको करिब २० प्रतिशत कच्चा तेल तथा तरल प्राकृतिक ग्यास यही मार्गबाट ओसारपसार हुने भएकाले हर्मुजको अवस्था विश्व बजारका लागि अत्यन्त संवेदनशील मानिन्छ। युद्धका कारण सयौं ट्यांकर र हजारौं नाविक अलपत्र परेको अवस्थामा जलमार्ग खुला हुनु ऊर्जा आपूर्तिमा ठूलो राहतको संकेतका रूपमा हेरिएको छ।

