विराटनगर । बिस्कुटमा रौँ भेटिएको उजुरीपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले सम्बन्धित बिस्कुट उद्योगलाई कारबाही गरेको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर र उपभोक्ता संरक्षण कार्यालय मोरङको संयुक्त अनुगमनका क्रममा एसियन बिस्कुट एन्ड कन्फेक्सनरी प्रालि, दुहबी (सुनसरी) द्वारा उत्पादन गरिएको डाइजेस्टिभ नट्स बिस्कुटमा रौँ भेटिएको पुष्टि भएको हो।
उपभोक्ताबाट उजुरी आएपछि उद्योगको उत्पादन स्थलमा अनुगमन गरिएको थियो। सो क्रममा उक्त बिस्कुटको नमुना संकलन गरी प्रयोगशालामा परीक्षणका लागि पठाइएको जनाइएको छ।
अनुगमन टोलीको प्रतिवेदनका आधारमा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले उद्योगलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ। कार्यालयले उपभोक्ता सुरक्षासम्बन्धी मापदण्ड कडाइका साथ पालना गर्न सम्बन्धित उद्योगहरूलाई निर्देशन समेत दिएको छ।

