काठमाडौं । रोल्पामा भएको बोलेरो दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ। बिहीबार रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो थवाङ गाउँपालिका–१, जलजला क्षेत्रमा भीरबाट खसेको हो।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार दुर्घटनामा १७ जनाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी थियो भने थप तीन जनाको मृत्यु पुष्टि भएपछि कुल मृतक संख्या २० पुगेको छ।
प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार दुर्घटनामा परेको बोलेरो सडकबाट करिब ८ सय मिटर तल खसेको हो।
वैशाख पूर्णिमाको अवसरमा लाग्ने धार्मिक मेलामा सहभागी हुन तीर्थयात्रीहरू जलजला जाँदै गर्दा दुर्घटना भएको बताइएको छ। दुर्घटनापछि घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको छ। तर विकट भूगोल र नेटवर्क समस्याका कारण उद्धार तथा विवरण संकलनमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले उद्धार कार्य जारी रहेको र घटनाबारे थप विवरण संकलन भइरहेको जानकारी दिएको छ।

