बेइजिङ । चीनका दुई पूर्व रक्षामन्त्रीलाई भ्रष्टाचार मुद्दामा मृत्युदण्डको सजाय सुनाइएको छ, जसलाई दुई वर्षपछि जन्मकैदमा रूपान्तरण गरिने बताइएको छ ।
चीनको सरकारी समाचार संस्था सिन्ह्वा समाचार एजेन्सी का अनुसार पूर्वरक्षामन्त्रीहरू वेई फेङहे र ली साङ्फु लाई भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै सैन्य अदालतले उक्त सजाय सुनाएको हो ।
रिपोर्टअनुसार वेई फेङहेमाथि घुस लिएको र ली साङ्फुमाथि घुस स्वीकार गर्नुका साथै घुस प्रस्ताव गरेको आरोप प्रमाणित भएको बताइएको छ । अदालतले दुवैलाई आजीवन राजनीतिक अधिकारबाट वञ्चित गर्ने र सम्पत्ति जफत गर्ने आदेशसमेत दिएको छ ।
सजायपछि मृत्युदण्डलाई दुई वर्षपछि जन्मकैदमा रूपान्तरण गरिने व्यवस्था गरिएको छ, जसअनुसार उनीहरू जीवनभर कारागारमै रहनेछन् ।
चीनका राष्ट्रपति सी जिनपिङ ले सन् २०१२ देखि सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियानअन्तर्गत उच्च सैन्य अधिकारीहरूमाथि गरिएको यो सबैभन्दा कठोर कारबाहीमध्ये एक मानिएको छ ।

