काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार खाद्यवस्तु, दाल तथा गेडागुडी र मरमसलाको मूल्यवृद्धिमा कमी आएको देखिएको छ।
चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४७ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ३.३९ प्रतिशत थियो।
प्रतिवेदनअनुसार खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ४.०१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.७२ प्रतिशत रहेको छ। यद्यपि चालु आर्थिक वर्षको नौ महिनाको औसत मुद्रास्फीति भने २.३९ प्रतिशतमा सीमित रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ४.५७ प्रतिशत थियो।
गत चैत महिनामा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको मूल्य १२.८७ प्रतिशतले बढेको छ भने फलफूलमा ११.६७ प्रतिशत र तरकारीमा ९.१८ प्रतिशतले वृद्धि भएको छ। तर दाल तथा गेडागुडीको मूल्य २.७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १.६८ प्रतिशत र मरमसलाको १.६४ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ।
गैर-खाद्य तथा सेवा समूहतर्फ विविध वस्तु तथा सेवाको मूल्य १९.९४ प्रतिशतले बढेको छ। यातायातमा १२.०३ प्रतिशत, शिक्षामा ७.४६ प्रतिशत, मदिराजन्य पेय पदार्थमा ४.७७ प्रतिशत र कपडा तथा जुत्ताचप्पलमा ४.७३ प्रतिशतले मूल्यवृद्धि भएको प्रतिवेदनमा उल्लेख छ।
क्षेत्रगत रूपमा ग्रामीण क्षेत्रमा वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.७१ प्रतिशतले बढ्दा सहरी क्षेत्रमा ४.७४ प्रतिशतले वृद्धि भएको छ।
प्रदेशगत विवरणअनुसार लुम्बिनी प्रदेशमा सबैभन्दा बढी ५.१५ प्रतिशत मुद्रास्फीति रहेको छ। त्यसपछि कोशीमा ४.९८ प्रतिशत, मधेशमा ४.९१ प्रतिशत, बागमतीमा ४.२० प्रतिशत, गण्डकीमा ३.८५ प्रतिशत, कर्णालीमा ३.८२ प्रतिशत र सुदूरपश्चिममा ३.३९ प्रतिशत मुद्रास्फीति रहेको राष्ट्र बैंकले जनाएको छ।
भौगोलिक क्षेत्रअनुसार काठमाडौँ उपत्यकामा ४.६९ प्रतिशत, तराईमा ४.८३ प्रतिशत, पहाडमा ४.१८ प्रतिशत र हिमाली क्षेत्रमा ३.२० प्रतिशत मुद्रास्फीति रहेको प्रतिवेदनमा उल्लेख छ।

