काठमाडौं । प्रतिनिधि सभाले सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। विपक्षी दलहरूको बहिष्कार र अवरोधबीच बिहीबार साँझ बसेको बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो। नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले पटक–पटक संसद् बैठक अवरुद्ध गर्दै आएका थिए।
सभामुख डोलप्रसाद अर्यालले सत्तापक्ष र प्रतिपक्षबीच सहमतिको प्रयास गरे पनि सहमति नजुटेपछि प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्ले ले जवाफ दिने व्यवस्था गरिएको थियो।
त्यसपछि एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले बैठक बहिष्कार गरेका थिए भने नेपाली कांग्रेसले उठेर विरोध जनाइरहेको थियो।
नीति तथा कार्यक्रममाथि दर्ता भएका ३५ वटा संशोधन प्रस्तावहरू सबै बहुमतले अस्वीकृत भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेल ले सोमबार संघीय संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रम बिहीबार प्रतिनिधि सभाबाट औपचारिक रूपमा पारित गरिएको हो।

