काठमाडौं । गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्न थालेपछि बजारमा अण्डाको मूल्य बढेको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले आइतबारदेखि अण्डाको नयाँ समर्थन मूल्य लागू गरेको हो।
सङ्घका अनुसार ठूलो अण्डाको फार्मदर मूल्य प्रतिक्रेट (३० वटा) ५१५ रुपैयाँ तथा मध्यम अण्डाको ४८५ रुपैयाँ कायम गरिएको छ। यसअघि ठूलो अण्डाको मूल्य ४८५ रुपैयाँ र मध्यम अण्डाको ४३५ रुपैयाँ रहेको थियो।
सङ्घका सचिव मदन पोखरेलका अनुसार उपभोक्ता मूल्य प्रतिगोटा २५ रुपैयाँ निर्धारण गरिएको छ। सङ्घका अध्यक्ष विनोद पोखरेल ले दुई दिने सार्वजनिक बिदाका कारण पर्यटकको चहलपहल बढ्दा खपत बढेको तथा गर्मीका कारण उत्पादन घटेकाले मूल्य वृद्धि भएको बताए।
उनका अनुसार किसान कुखुरापालन व्यवसायबाट पलायन हुँदै जाँदा जनशक्तिको अभाव देखिएको छ भने विभिन्न रोगका कारण कुखुरा मर्न थालेपछि अण्डा उत्पादनमा गिरावट आएको छ।
अध्यक्ष पोखरेलले अण्डाको लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्ने भए पनि किसानले अझै लागतअनुसारको मूल्य नपाएको बताए।
नेपाल लेयर्स कुखुरापालक सङ्घले विभिन्न कृषि फार्महरूले निर्धारण गरेको मूल्यलाई समायोजन गर्दै समर्थन मूल्य तय गर्ने गरेको जनाएको छ।
व्यवसायीहरूका अनुसार पछिल्लो समय उत्पादन घट्नु, कुखुरामा रोग फैलिनु तथा लागतअनुसार मूल्य नपाउँदा धेरै किसान बैंक ऋणको भरमा व्यवसाय सञ्चालन गर्न बाध्य भएका छन्।

