काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीका थप ३ सय ४ जना साना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समिति ले बुधबार कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारी का साना बचतकर्तालाई रकम फिर्ता गरेको जनाएको हो।
समितिका अनुसार कृषि सहकारीका ८८ जना तथा शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २ सय १६ जना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएका छन्। यसअघि पनि समितिले कान्तिपुर सहकारी का २ सय १५ जना, शिव शिखर बहुउद्देश्यीय सहकारीका १ सय ५६ जना तथा पशुपति सहकारी का ७ जना गरी ३ सय ७८ जना साना बचतकर्तालाई रकम फिर्ता गरिसकेको थियो।
समितिले पहिलो चरणमा थोरै रकम बचत गरेका साना बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गरिएको जनाएको छ। आगामी दिनमा पनि बचत रकमको आधारमा वर्गीकरण गरी चरणबद्ध रूपमा रकम फिर्ता गरिने समितिको भनाइ छ।
समितिका अनुसार समस्याग्रस्त सहकारीमा करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी छ। तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन्। पाँच लाख रुपैयाँभन्दा कम बचत भएका व्यक्तिलाई साना बचतकर्ता तथा पाँच लाख रुपैयाँभन्दा बढी बचत भएका व्यक्तिलाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ।
कुल ७६ हजार बचतकर्तामध्ये पाँच लाखभन्दा बढी बचत गर्ने करिब १८ हजार जना रहेको समितिले जनाएको छ।

