फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ। बुधबार बिहान सम्पन्न अन्तिम दुई प्रि–क्वार्टरफाइनल खेलसँगै अन्तिम आठ टोलीको टुंगो लागेको हो।
आज भएका खेलमा अर्जेन्टिनाले इजिप्टलाई ३–२ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्यो। यस्तै, स्विट्जरल्यान्डले कोलम्बियालाई हराउँदै अन्तिम आठमा आफ्नो स्थान पक्का गर्यो।
यसअघि फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे र इङ्ग्ल्यान्डले पनि प्रि–क्वार्टरफाइनल जित्दै क्वार्टरफाइनलमा प्रवेश गरिसकेका थिए।
अब क्वार्टरफाइनलका खेल शुक्रबारदेखि सुरु हुनेछन्। पहिलो खेलमा मोरक्कोले फ्रान्सको सामना गर्नेछ भने बेल्जियम र स्पेनबीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै, नर्वे र इङ्ग्ल्यान्ड आमनेसामने हुँदा स्विट्जरल्यान्डले अर्जेन्टिनासँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।
प्रि–क्वार्टरफाइनलमा फ्रान्सले पाराग्वेलाई, मोरक्कोले क्यानडालाई, स्पेनले पोर्चुगललाई, बेल्जियमले अमेरिकालाई, नर्वेले ब्राजिललाई, इङ्ग्ल्यान्डले मेक्सिकोलाई, अर्जेन्टिनाले इजिप्टलाई र स्विट्जरल्यान्डले कोलम्बियालाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाएका हुन्।

