काठमाडौं । नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिएको छ। राजधानी काठमाडौंको प्रवेशद्वारमा निर्माण गरिएको यो सुरुङमार्ग सञ्चालनमा आएसँगै उपत्यका भित्रिने तथा बाहिरिने यात्रु र सवारीसाधनलाई सहज, सुरक्षित र छिटो यात्रा गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
वि.सं. २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको सुरुङमार्गको उद्घाटन पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालका लागि जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा गरेका हुन्।
सुरुङमार्ग निर्माण आयोजनाका अनुसार पहिलो चरणमा एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका आपत्कालीन सवारीसाधनलाई मात्र सुरुङमार्ग प्रयोग गर्न दिइनेछ। आवश्यक प्राविधिक परीक्षण र सञ्चालन व्यवस्थापन पूरा भएपछि अन्य सार्वजनिक तथा निजी सवारीसाधनलाई पनि चरणबद्ध रूपमा सञ्चालनको अनुमति दिइने जनाइएको छ।
नागढुङ्गा क्षेत्रमा वर्षौंदेखि देखिँदै आएको ट्राफिक जाम, यात्रा समयको लामो प्रतीक्षा तथा सडक दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले निर्माण गरिएको यो सुरुङमार्गलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा लिइएको छ। यसको सञ्चालनसँगै काठमाडौंलाई देशका विभिन्न जिल्लासँग जोड्ने मुख्य राजमार्गमा यातायात व्यवस्थापन थप प्रभावकारी हुने विश्वास गरिएको छ।
जापान सरकारको सहयोगमा निर्माण भएको सुरुङमार्गले नेपालमा आधुनिक सडक पूर्वाधार विकासको नयाँ युगको सुरुवात गरेको सरोकारवालाहरूको भनाइ छ।

