जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद मनिष झाले रास्वपाका सदस्यहरूले व्यक्तिगत हैसियतमा हिन्दूवादी अभियानमा सहभागी हुन पाउने बताएका छन्।
आइतबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले हिन्दू सम्राट सेनाको तर्फबाट सरकारसँग भएको वार्तामा सहभागी प्रतिनिधि रास्वपाकै सदस्य रहेको स्वीकार गर्दै त्यसलाई अनावश्यक रूपमा विवादको विषय बनाइएको बताए।
उनले कुनै पनि राजनीतिक दलको सदस्य रहँदै आफ्नो धार्मिक आस्था व्यक्त गर्न र त्यससँग सम्बन्धित अभियानमा सहभागी हुन पाउनु व्यक्तिको संवैधानिक स्वतन्त्रताको विषय भएको उल्लेख गरे।
‘हाम्रो पार्टीका एक सदस्य हिन्दूवादी अभियन्ता पनि हुनुहुन्छ। उहाँ रास्वपाको सदस्य हुनु र हिन्दूवादी अभियानमा सक्रिय हुनु एकअर्कासँग बाझिने विषय होइन। त्यो उहाँको व्यक्तिगत स्वतन्त्रता हो,’ सांसद झाले भने।
उनका अनुसार रास्वपाले आन्दोलनलाई हिंसात्मक दिशामा लैजानुभन्दा संवादमार्फत समाधान खोज्ने प्रक्रियालाई प्राथमिकता दिएको छ। त्यसैले आवश्यक पर्दा सरकारसँग हुने वार्तामा पार्टीका सदस्यहरू व्यक्तिगत हैसियतमा सहभागी हुन सक्ने उनले स्पष्ट पारे।
सांसद झाले हिन्दू सम्राट सेनाका प्रतिनिधिसँग सरकारले करिब साढे ९ घण्टा लामो वार्ता गरेको जानकारी पनि दिए।
उनले रास्वपामा कुनै भातृ संगठन नरहेको उल्लेख गर्दै पार्टीका सदस्यहरूले आफ्नो धार्मिक आस्था खुला रूपमा राख्न र व्यक्तिगत रूपमा विभिन्न सामाजिक तथा धार्मिक अभियानमा सहभागी हुन सक्ने बताए।

