काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको निर्देशनपछि नेपाल आयल निगमले एलपीजी ग्यासको आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन गरेको छ। निगमका अनुसार उक्त टोलीले बुधबारदेखि औपचारिक रूपमा काम सुरु गरेको हो।
मन्त्री यादवले उपभोक्ताको घरमा कुनै पनि हालतमा ग्यासको अभाव हुन नदिन निर्देशन दिएपछि उद्योग मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग तथा ग्यास उद्योगका प्रतिनिधिहरू सम्मिलित संयन्त्र गठन गरिएको हो।
टिममा उद्योग मन्त्रालयका मङ्गल बिष्ट, नेपाल आयल निगमका इन्दु श्रेष्ठ र उपेन्द्र सुवेदी तथा ग्यास उद्योगका आयुस नेपाल र कुलप्रसाद राई सदस्य रहेका छन्।
निगमका अनुसार देशका जुनसुकै स्थानमा एलपीजी ग्यासको अभाव वा वितरणसम्बन्धी समस्या देखिए तत्काल समन्वय गरेर समाधान गर्नु टोलीको मुख्य जिम्मेवारी हुनेछ। हटलाइनमा प्राप्त हुने गुनासोका आधारमा सम्बन्धित उद्योग, डिलर तथा व्यवसायीसँग समन्वय गरी उपभोक्तासम्म ग्यास आपूर्ति सहज बनाइने जनाइएको छ।
पछिल्लो समय विभिन्न जिल्लाबाट ग्यास अभावको गुनासो बढेपछि समस्या तत्काल सम्बोधन गर्न यो संयन्त्र गठन गरिएको निगमले जनाएको छ। कार्यालय समयभित्र प्राप्त हुने गुनासोलाई प्राथमिकताका साथ सम्बोधन गरी सकेसम्म तत्काल समाधान गर्ने लक्ष्य राखिएको छ।
ग्यास आपूर्तिसम्बन्धी समस्या वा गुनासो भए उपभोक्ताले कार्यालय समयभित्र नेपाल आयल निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न सक्ने निगमले जनाएको छ। क्विक रेस्पोन्स टिमले प्राप्त गुनासोमाथि तत्काल आवश्यक पहल गर्ने बताइएको छ।

