काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कार विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको रास्वपाले जनाएको छ।
रास्वपाका अनुसार लोकतन्त्रको मर्म निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी, सुझाव र सम्पर्कमा रहनु हो। यही मान्यतालाई आत्मसात गर्दै सरकारमा सहभागी रास्वपाका मन्त्रीहरू महिनामा कम्तीमा एक पटक केन्द्रीय पार्टी कार्यालयमा अनिवार्य रूपमा उपस्थित भई नागरिक तथा पार्टी पंक्तिसँग प्रत्यक्ष संवाद गर्नेछन्।
कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा साँझ ५ बजेदेखि ६ बजेसम्मको एक घण्टा आम नागरिकका लागि खुला रहनेछ। उक्त समयमा मन्त्रीहरूले सर्वसाधारणका गुनासा, समस्या, अपेक्षा तथा सुझाव प्रत्यक्ष रूपमा सुन्नेछन्।
त्यसपछि साँझ ६ बजेदेखि दोस्रो चरणअन्तर्गत ‘नेतृत्व संवाद’ हुनेछ। यस चरणमा सम्बन्धित मन्त्री, पार्टीका केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यहरूबीच संयुक्त बैठक हुनेछ। नागरिक संवादका क्रममा प्राप्त सुझाव तथा देशका समसामयिक, बहुआयामिक र नीतिगत विषयमा बैठकमा सघन छलफल गरिने रास्वपाले जनाएको छ।
रास्वपाका अनुसार कार्यक्रमले नागरिक, सरकार, व्यवस्थापिका र पार्टी संगठनबीचको समन्वयलाई थप प्रभावकारी बनाउनेछ। नागरिकका मुद्दालाई प्रभावकारी रूपमा सम्बोधन गर्न साझा रणनीति निर्माण गर्नु कार्यक्रमको प्रमुख उद्देश्य रहेको पार्टीले जनाएको छ।
त्यस्तै, मन्त्रीहरूलाई आम नागरिकप्रति प्रत्यक्ष रूपमा जवाफदेही बनाउने, नागरिकका वास्तविक समस्या पहिचान गरी राष्ट्रिय नीति तथा कानुन निर्माणमा पार्टीको धारणा तय गर्ने तथा नागरिक, संगठन, संसदीय दल र सरकारबीच सूचना र कार्ययोजनाको प्रभावकारी आदानप्रदान गर्ने उद्देश्य पनि कार्यक्रमको रहेको छ।
रास्वपाका सहमहामन्त्री असिम शाहद्वारा जारी विज्ञप्तिमा नागरिकका आवाजलाई राज्यको नीति निर्माण तथा कार्यान्वयनको तहसम्म प्रत्यक्ष रूपमा जोड्ने पुलका रूपमा कार्यक्रमलाई अघि बढाइने उल्लेख छ।

