काठमाडौं । देशभर कात्तिक ११ गतेसम्म मौसममा ठूलो परिवर्तन नदेखिए पनि कात्तिक १२ गते बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । सोमबार देशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कात्तिक १० गते मंगलबार कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ ।
कात्तिक ११ गते बुधबार देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना छ । ती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
कात्तिक १२ गते बिहीबार भने मौसममा थप बदली भई वर्षा र हिमपातको सम्भावना रहेको छ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा, लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा वा हिमपात हुन सक्छ ।
त्यस दिन कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा वा हिमपात हुने सम्भावना छ । यस्तै, लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
वर्षाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत असर पार्न सक्ने भएकाले मौसमसम्बन्धी पछिल्लो सूचना अद्यावधिक गर्न महाशाखाले आइतबार साँझ बुलेटिन जारी गर्दै आग्रह गरेको छ ।

