काठमाडौं। सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ। गृह मन्त्रालयले आज सूचना जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि एनप्याब्सनलाई निलम्बन गरिएको जनाएको हो।
मन्त्रालयका अनुसार राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम नेपाल सरकारको स्वीकृति लिएर स्थापना भई सञ्चालनमा रहेको एनप्याब्सनले ऐनको दफा ५ अनुसार गृह मन्त्रालयबाट दिइएको निर्देशन बारम्बार पालना गरेको देखिएको छैन।
त्यस्तै, संगठनका पदाधिकारीहरूले नेपाल सरकारबाट स्वीकृत विधान तथा संगठनको मूल उद्देश्यविपरीतका गतिविधि गरेको पनि मन्त्रालयले जनाएको छ।
यस विषयमा मन्त्रालयले गत असोज २३ गते सम्बन्धित सरोकारवाला पक्षसँग छलफल गरी राष्ट्रिय निर्देशन ऐन, २०१८ तथा मन्त्रालयबाट गत वर्ष मंसिर १२ गते जारी निर्देशनबमोजिमका कार्य गर्न आग्रह गरेको थियो। तर, उक्त निर्देशनअनुसार काम गरेको नदेखिएपछि सरकारले निलम्बनको निर्णय गरेको सूचनामा उल्लेख छ।
राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) बमोजिम एनप्याब्सनलाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरिएको गृह मन्त्रालयले स्पष्ट पारेको छ।
मन्त्रालयले सूचना जारी भएपछि उक्त संस्थाको नाममा कुनै पनि समूह वा गुटबाट गतिविधि सञ्चालन भएमा गैरकानुनी मानिने चेतावनी दिएको छ। त्यस्ता गतिविधिमा संलग्न हुनेलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने मन्त्रालयले जनाएको छ।

