काठमाडौं । १९औं एसियाली खेलकुद अन्तर्गत टी–२० आई क्रिकेटको पहिलो खेलमा नेपालले एकैसाथ चारवटा कीर्तिमान कायम गरेको छ।
नेपाललले टी–२० फर्म्याटमा इतिहासमै फराकिलो जित निकालेको छ। मंगोलियासँग भएको पहिलो खेलमा नेपालले २७३ रनको फराकिलो जित निकालेको हो।
यो रन अन्तर टी–२० आई इतिहासमै सबैभन्दा ठूलो हो। यसअघि सन् २०१९ मा चेकरिपब्लिकले टर्कीविरुद्ध २५७ रनको जित निकालेको थियो।
यस्तै नेपालले आजै टी–२० खेलमा सबैभन्दा ठूलो स्कोर खडा गर्ने रेकर्ड पनि राखेको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै ३१४ रन बनाएको थियो। ३१५ रनको विशाल लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रन बनाउँदै अलआउसट भयो।
यसअघि टी–२० आईमा सबैभन्दा ठूलो लक्ष्य अफगानिस्तानको रहेको थियो। यस्तै नेपालका दुई खेलाडीले नयाँ विश्व कीर्तिमान राखेका छन्।
नेपालका ब्याट्सम्यान कुशल मल्लले सबैभन्दा छिटो शतक र दीपेन्द्र सिंह ऐरीले छिटो अर्धशतक पनि हानेका छन्। कुशलले ३४ बलमा १०१ रन बनाए भने दीपेन्द्रले ९ बलमा अर्धशतक पारी खेले।
कुशलले नटआउट ५० बलको सामना गर्दै ८ चौका र १२ छक्कासहित १ सय ३७ रनको अविजित इनिङ खेले भने ऐरीले १० बलमा ५२ रनको पारी खेले।
मंगोलियाका दावासुरेनले २३ बलमा २ चौकासहित सर्वाधिक १० रन बनाएका थिए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका लागि करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछानेले समान दुई/दुई विकेट लिए। सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले एक/एक विकेट लिए।
कप्तान राहित पौडेल २७ बलमा २ चौका र ६ छक्कासहित ६१ रनमा आउट भए। तेस्रो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले १ सय ९३ रनको साझेदारी गरेका थिए। यो कुनै पनि खेलमा नेपाली ब्याटरले गरेको उच्च साझेदारी हो।
नेपालका रोहित पौडेलले पनि १९ बलमै अर्धशतक प्रहार गरेका थिए। कुशल र रोहित दुवै नेपालबाट सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने ब्याटर बनेका छन्। नेपालका ओपनर कुशल भुर्तेल २३ बलमा २ चौकासहित १९ र आसिफ शेख १७ बलमा २ चौकासहित १६ रनमा क्याच आउट हुन पुगेका थिए।
नेपालले आफ्नो समूह चरणको अन्तिम खेल आइतबार माल्दिभ्ससँग खेल्नेछ।