एजेन्सी । इजरायलले प्यालेस्टिनी र अरब अमेरिकीविरुद्धको यात्रा प्रतिबन्ध फिर्ता लिएसँगै अमेरिकाले पनि इजरायलीरूलाई भिसा (प्रवेशाज्ञा) बिना संयुक्त राज्य अमेरिकामा प्रवेश दिने घोषणा गरेको छ।
आगामी नोभेम्बर ३० देखि लागू हुने यो व्यवस्थाअनुसार व्यापार र भ्रमण गर्न चाहने इजरायली नागरिकलाई तीन महिनासम्म अमेरिकामा बस्ने अनुमति प्राप्त हुनेछ तर निजले अमेरिका प्रवेश गर्नुअगावै आफ्नो भ्रमणको अभिलेख अध्यागमन विभागमा दर्ता गराउनुपर्नेछ।
‘असामाजिक एवं गैरकानुनी गतिविधि गर्नसक्ने ठानेर अमेरिकी अध्यागमन अधिकारीले निजलाई प्रवेशमा रोकसमेत लगाउन सक्नेछ,’ अध्यागमन अधिकारीलाई दिइएको अधिकारको एक बुँदामा भनिएको छ। होमल्याण्ड सेक्युरिटीले निर्धारण गरेका पूर्वसर्तको पालना नभएमा इजरायलीले प्रवेशाज्ञा (भिसा) पाउनेछैनन्।
बाइडेन प्रशासनको यो घोषणाबाट इजरायलले अमेरिकामा प्रतिष्ठित स्थान प्राप्त गरेको छ। संसारका एक सय ९३ भन्दा बढी मुलुकमध्ये करिब ४० देशलाई मात्र अमेरिकाले ‘भिसा लिनुनपर्ने’ सुविधा र सम्मान दिएको छ। बाइडेन प्रशासनले वासिङ्टन, जेरुसेलम र रियादबीच चलिरहेको त्रिदेशीय वार्ताको परिणामका रुपमा पनि लिइएको छ।
अब इजरायलले प्यालेस्टिनीहरूसँग राम्रो व्यवहार गर्ने अपेक्षा गरिएको छभने इजरायलमा साउदी लगानी बढ्ने आशा गरिएको छ। अमेरिकी मध्यस्थतामा साउदी र इजरायलबीचको सम्बन्ध सामान्य बन्दै गएको छ। गत साता साउदी अरबको एउटा उच्चस्तरीय टोली प्यालेष्टिनी क्षेत्रमा पुगेर त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएको थियो।