एजेन्सी । शनिबार बिहान प्यालेस्टाइनी विद्रोही समूहले इजरायलमा आक्रमण गरेपछि इजरेली सेनाले हमासको नियन्त्रणमा रहेको प्यालेस्टाइनको गाजामा तीव्र आक्रमण गरेको छ । इजरेली प्रधानमन्त्री विन्जामिन न्यतन्याहुले युद्धको घोषणा गरेपछि इजरेली लडाकु विमानले गाजामा सयौँ मिसाइल दागेका छन् ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार गाजामा जताततै बम विस्फोट भइरहेको छ भने हावामा बारुद्धको गन्ध र जमिनमा चिच्याइरहेका महिला तथा बालबालिका देखिएको छ । चास सयभन्दा धेरै प्यालेस्टाइनीको मृत्यु भइसकेको छ ।
इजरेली डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ताले हमासका ठेगनाहरूमा निरन्तर आक्रमण जारी रहेको र ४ सयभन्दा धेरै मारिएको जनाएका छन् । उनले सयौँ हमासका लडाकुलाई नियन्त्रणमा लिएको तथा केहीलाई मारेको बताएका छन् ।
इजरेली सेनाको आक्रमणमा गाजामा रहेका ठूल्ठूला भवनहरू ध्वस्त भएको जनाइएको छ । प्यालेस्टाइनी रेडक्रिसेन्ट सोसाइटीका प्रवक्ताले आफूले चलाएको एक अस्पताल ध्वस्त भएको, केही स्वयमसेवी घाइते भएको बताएका छन् । उनले गाजामा विजुली पनि बन्द गरिएको भन्दै त्यसले अस्पतालहरूमा उपचार सेवा दिन कठिनाइ भएको बताएका छन् ।