काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । बिहीबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सिरिजमा दोस्रो जित निकालेको हो । जितका लागि ९५ रनको लक्ष्य नेपालले १३.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालको जितमा ओपनर आसिफ शेखले ३४ बलमा ४२ रन बनाएर आउट भए । अर्का ओपनर कुशल भुर्तेल ८ बलमा ८ रन बनाएर आउट भए । यस्तै कप्तान रोहित पौडेल २० बलमा २५ रनका साथ अविजित रहे भने गुल्शन झा ५ बलमा १४ रनका साथ अविजित रहे ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हङकङ १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ९४ रनमा समेटियो । हङकङका लागि यासिम मुर्ताजा सर्वाधिक ३६ बनाए ।
त्यस्तै जिशन अलीले १७ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । हङकङलाई ९४ रनमा समेट्ने क्रममा नेपालका करण केसीले चार विकेट लिए भने, अविनाश बोहरा र सोमपाल कामीले समान दुई/दुई विकेट लिए । कुशल मल्ल र श्याम ढकाल (मौसम)ले समान एक/एक विकेट लिए ।