काठमाडौं । लमजुङ-मनाङ जोड्ने एक मात्र बेसीशहर-चामे सडक ट्र्याक खोलेको २९ वर्षपछि अमेरिकन प्रविधिको ‘अस्फाल्ट’ कालोपत्रे शुरु भएको छ। बेसीशहर–चामे सडक अन्तर्गत बेसीशहरदेखि खुदीसम्मको सात दशमलव आठ किलोमिटर सडक बिहीबारदेखि कालोपत्र शुरु भएको हो।
स्तरोन्नति तथा कालोपत्र गर्ने कार्यअन्तर्गत पहिरो चरणको करिब ९० प्रतिशत काम सम्पन्न भएसँगै दोस्रो चरणको काम सुरु भएको डुम्रे बेसीशहर चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी तथा इन्जिनियर पुरुषोत्तम अधिकारीले जानकारी दिए।
उनका अनुसार पहिलो चरणमा सडकको पर्खाल उठाउने, कल्भर्ट बनाउने, चौडा गर्ने, कटिङ गर्ने कार्य सम्पन्न भएको छ भने नाली र अन्य केही संरचना निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको छ।
सडक पाँच दशमलव पाँच मिटरको सवारी गुड्ने, एक दशमलव एक मिटरको नाली र सर्वसाधारण हिँड्ने बाटो एक मिटर चौडाइको हुने इन्जिनियर अधिकारीले बताए। उनका अनुसार बस्ती भएका ठाउँमा भने दुईतर्फी नै नाली निर्माण गरिने र बस्ती नभएका ठाउँमा एकतर्फी नाली निर्माण गरिने छ।