काठमाडौं । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले पदबाट राजीनामा दिएका छन् । उमेर विवादमा छानविन गर्न अख्तियारले रक्षामन्त्रालयलाई निर्देशन दिएपछि पाण्डेले पदबाट राजीनामा दिएको सैनिक स्रोतले बतायो ।
प्रधानसेनापति प्रभुराम शर्माले वरियताको आधारमा पाण्डेलाई रथी बढुवाका लागि सिफारिस गरेका थिए । रथी बढुवाका लागि पाण्डेपछि उपरथी अशोक सिग्देल र निर्मल थापा लाइनमा थिए । सिग्देलको समेत पाण्डेको जस्तै जन्ममितिमा कैफियत रहेको सैनिक अधिकारीहरुको दावी छ ।
सेनाको युद्धकार्य महानिर्देशक रहेका पाण्डेको रथीमा बढुवा सिफारिस भएपछि उमेर विवादमा आएसंगै विभिन्न निकायमा उजुरी परेको थियो । सेनाले भने विज्ञप्ति नै निकालेर पाण्डेको उमेर विवाद नभएको प्रष्ट पारेको थियो ।
पाण्डे रथीमा बढुवा भएको अवस्थामा भावी प्रधानसेनापति बन्ने बाटोमा थिए । उनले विहिवार पदबाट राजीनामा दिएको स्रोतले दावी गरेको छ ।
प्रधानसेनापति शर्माले पाण्डेलाई रथीमा बढुवा गर्न २९ असोजमा ७ दिने सूचना जारी गरेका थिए । त्यो विचमा प्रधानसेनापति शर्मा चीन भ्रमणमा गएर १६ कात्तिकमा स्वदेश फर्केपनि बढुवा भने अघि बढेको थिएन ।