काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ मालीमा तैनाथ नेपाली सेनाको टोली फर्किन थालेको छ। त्यहाँ तैनाथ नवौं डफ्फाका ८१ जनाको टोलीलाई बिहीबार फिर्ता गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
प्रमुख सेनानी चित्रकुमार कार्कीको कमाण्डमा रहेको टोली हातहतियार तथा बन्दोबस्तीका सामग्रीसहित संयुक्त राष्ट्रसंघको चार्टर्ड विमानमा स्वदेश फर्किएको हो।
संयुक्त राष्ट्र संघले मालीमा तैनाथ शान्ति मिसन बन्द गर्ने निर्णय गरिसकेको छ।
राष्ट्रसंघको निर्णयसँगै नेपाली सेनाको कन्टिन्जेन्टमा रहेका १५६ जना एवं स्टाफ तथा पर्यवेक्षकमा नियुक्तिमा कार्यरत समेत गरी १६८ जना फर्किने क्रममा रहेका छन्। जसमा पहिलो टोली नोपाल आइपुगेको हो।
नेपाल संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यका लागि विश्वभर तैनाथ मिसनहरूमा फौज उपलब्ध गराउने सदस्य राष्ट्रहरूको दोस्रो वरियतामा रहेको छ।