लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिका–३, घलेगाउँमा आयोजित जिल्लास्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि राइनास नगरपालिकाले जितेको छ । राइनास नगरपालिका गतवर्ष पनि च्याम्पियन बनेको थियो ।
घलेगाउँको स्वर्गभूमि रंगशालामा बुधबार सकिएको प्रतियोगितामा १३ स्वर्ण, ९ रजत र ७ कास्यसहित राइनास यसवर्ष पनि च्याम्पियन बनेको हो । ११ स्वर्ण, ९ रजत र ४ कास्यसहित बेंसीसहर नगरपालिका द्वितीय बनेको छ । ६ स्वर्ण, ११ रजत र ८ कास्यसहित सुन्दरवजार नगरपालिका तृतीय बनेको छ ।
विजयी टिम र विद्यार्थीलाई क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ, निवर्तमान अध्यक्ष प्रेमबहादुर घले, आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योगबहादुर गुरुङ (कालु) लगायतले शिल्ड तथा पुरस्कार प्रदान गरे ।
मार्च पासमा ३७ अंक ल्याएर राइनास नगरपालिका प्रथम बनेको हो । ३४ अंक ल्याएर मध्यनेपाल नगरपालिका द्वितीय बनेको छ । ३३ अंक ल्याएर सुन्दरवजार नगरपालिका तृतीय बनेको छ । प्रतियोगितामा मर्स्याङ्दी गाउँपालिका अनुशासित टिम घोषित भयो ।
महिला भलिबलमा बेंसीसहर नगरपालिका प्रथम, मर्स्याङ्दी गाउँपालिका द्वितीय र राइनास नगरपालिका तृतीय बनेको छ । पुरुषतर्फ मध्यनेपाल नगरपालिका प्रथम, राइनास नगरपालिका द्वितीय र मर्स्याङ्दी गाउँपालिका तृतीय बनेको छ ।
प्रतियोगितामा छात्राछात्र हाइजम्म, लङजम्प, त्रिपलजम्प, सर्टफुट, १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १ हजार ५ सय मिटर, ३ हजार मिटर दौड, १ सय इन्टु ४ रिले दौड लगायतका प्रतियोगिता सञ्चालन गरिएको थियो । सोमबारदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका ४ नगरपालिका र ४ गाउँपालिकाका खेलाडी सहभागि थिए ।