काठमाडौं । एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । दोस्रो खेलमा नेपालले आइतबार आज भुटानलाई ८ विकेटले पराजित गरेको हो ।
मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभलमा भुटानले दिएको ६६ रनको लक्ष्य नेपालले ११ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गरयो ।
ब्याटिङमा नेपालकी सीता राना मगर ३२ र रुबिना क्षेत्री १७ रनमा अविजित रहे । कविता कुँवर ५ र कप्तान इन्दु बर्मा १ रनमा आउट भए । बलिङमा भुटानकी अञ्जली गुरुङ र अञ्जुली घलीले एक एक विकेट लिए ।
त्यसअघि पहिला ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ६५ रन बनाएको थियो । नेपालका इन्दु बर्मा, सीता राना मगर, कविता कुँवर र कविता जोशीले एक–एक विकेट लिए ।
यसअघि पहिलो खेलमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको थियो । १६ सहभागी टोली चार समूहमा छन् । हरेक समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् । सेमिफाइनल हुँदै फाइनलमा पुग्ने दुई टोलीले यसै वर्ष हुने वुमन्स एसिया कप खेल्न पाउनेछन् ।