काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसला बदरको माग गर्दै सरकारी पक्षले उच्च अदालतमा पुनरावेदन दिएको छ।
बुधबार उच्च अदालत पाटनमा सरकारी पक्षले पनि जिल्ला अदालतको फैसला विरुद्ध पुनरावेदन दर्ता गराएको हो । यता सन्दीपले काठमाण्डु जिल्ला अदालतको फैसलाविरुद्ध यसअघि नै पुनरावेदन दर्ता गराइसकेका छन् ।
काठमाडौं जिल्ला अदालतले गत पुष १३ गते फैसला सुनाउँदै क्रिकेटर लामिछानेले गौशाला २६ माथि बलात्कार गरेको ठहर गरेको थियो । वादी नेपाल सरकारले पीडित गौशाला २६ नाबालिग रहेको दावी गरेपनि काठमाण्डु जिल्ला अदालतले भने वारदातको समयमा किशोरीको उमेर १८ वर्ष पुगिसकेको ठहर गरेको थियो ।
यद्यपि किशोरीको उमेर १८ वर्ष पुगिसकेको भएपनि लामिछानेले किशोरीको आर्थिक अवस्थाको फाइदा उठाउँदै होटलसम्म पुर्याएर बलात्कार गरेको ठहर गरेको थियो । जिल्ला अदालतले सन्दीपलाई आठ वर्ष कैद फैसला सुनाएको थियो । तर, सरकारी पक्ष उनलाई १२ वर्ष कैद हुनु पर्ने भन्दै उच्च अदालत पुगेको हो ।
सरकारी पक्षको दावीमा किशोरीको नागरिकता, शैक्षिक प्रमाणपत्र आदिले किशोरीको उमेर वारदातको समयमा १८ वर्षभन्दा कम नै रहेको जिकिर गर्दै सन्दीपलाई सुनाइएको सजाय अपुग भएको जिकिर लिइएको छ ।