एजेन्सी । चीनको ग्वाङ्दोङ प्रान्तमा भीषण वर्षाका कारण आएको बाढीबाट प्रभावित ६०,००० मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
सरकारी सञ्चारमाध्यमका अनुसार अहिलेसम्म बाढीका कारण तीन जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन्। प्रभावित क्षेत्रबाट प्राप्त भिडिओमा ठूलो भूभाग डुबानमा परेको र उद्धारकर्ताहरूले मानिसहरूलाई डुङ्गामा राखेर अन्यत्र सार्न लागेको देखिन्छ।
केही ठूला नदीको तटबन्ध भत्किँदा पानीको सतह बढेपछि खतरा बढेको छ। ग्वाङ्दोङको एउटा नदीमा सोमवार १०० वर्षपछि पानीको मात्रा सर्वाधिक हुने अनुमान गरिएको थियो।
प्रान्तीय राजधानी ग्वाङ्जो र अन्य साना सहर पनि नराम्ररी प्रभावित भएका छन्। सप्ताहान्तमा बाढीका कारण ११।६ लाख घरमा विद्युत् आपूर्ति बन्द भएको थियो। निरन्तर पानी परेका कारण ग्वाङ्जोस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उडानहरू प्रभावित भएको बीबीसीले जनाएको छ ।
तस्बिरः Xinhua, Getty Images