काठमाडौं । फिफा विश्वकप २०२६अन्तर्गत एसियाली छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपाल र यमनले समान गोल गरेका छन् ।
साउदी अरबको दमामस्थित प्रिन्स मोहमद बिन फहद मैदानमा आज बिहान सखारै समाप्त भएको खेलमा नेपाल र यमनबीचको खेल दुई–दुई गोलको बराबरीमा टुङ्गिएको हो ।
नेपालका लागि फरवार्डरद्वय सञ्जीव विष्ट र जिलेस्पीजङ्ग कार्कीले समान एक–एक गोल गरे । खेलको नवौँ मिनेटमा पेनाल्टीमार्फत नेपालले गोल खान पुगेको थियो । बक्सभित्र मनिष डाँगीले यमनका खेलाडी रमी अल–वासमानीमाथि खेल नियम उल्लङ्घन गरेपछि यमनले पेनाल्टी पाएको थियो । पेनाल्टी सदुपयोग गर्दै नसीम अल–गाहवाहीले गोल गरेका थिए ।
खेलको २२औँ मिनेटमा सञ्जीवले गोल फर्काका थिए । खेलको ६६औँ मिनेटमा नेपालले अग्रता लियो । नेपालका छिरिङ लामाले खेलेको क्रसमा सञ्जीवकै हेडरमा जिलेस्पीले गोल गरे । नेपालको दुई–एक गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको दोस्रो हाफको अतिरिक्त समयमा यमनका मोहम्मद अल–दाहीको गोल गरेपछि अन्ततः खेल दुई–दुई गोलको बराबरीमा सकियो ।