काठमाडौं । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले देशभरका रंगशालाहरुको व्यवस्थापनलाई मध्यनजर गरी रंगशाला सञ्चालन सम्बन्धी कार्यविधिको मस्यौदा तयार गरिएको बताएका छन्।
आइतबार सय दिने कार्य प्रगति विवरण सार्वजनिक कार्यक्रममा बोल्दै उनले सो कुराको जानकारी गराएका हुन । उनले खेलकुदमा विविध क्षेत्रको ज्ञान तथा क्षमतालाई अवसर प्रदान गर्न तथा अन्तर्राष्ट्रिय पारा ओलम्पिकको मान्यता अनुरूप विकास गर्दै लैजाने उद्देश्यले यस वर्ष कर्णाली प्रदेशको सुर्खेतमा प्रथम पारा राष्ट्रिय प्रतियोगिता आयोजना गरिने बताए।
मन्त्री श्रेष्ठले खेलाडीहरूलाई खेलमैदानसँग जोडिरहन र खेलकुद प्रतियोगिताका कार्यक्रमलाई पारदर्शी तथा योजनाबद्ध बनाउन राष्ट्रिय खेलकुद परिषद् तथा राष्ट्रिय खेल संघद्वारा वर्षभरमा सञ्चालन गरिने खेलकुद प्रतियोगिताहरूको आर्थिक वर्ष २०८१/८२ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको बताए।