काठमाडौं । एसीसी महिला एशिया कप क्रिकेटको दोस्रो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ। नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको हो।
नेपालले दिएको १०९ रनको लक्ष्य पाकिस्तानले १ विकेटको क्षतिमा ४९ बल बाँकी छँदै पूरा गर्यो। पाकिस्तानका लागि गुल फेरोजाले अर्धशतकीय इनिङ्स खेलिन्। उनले ३५ बलमा १० चौका प्रहार गर्दै ५७ रन जोडिन्। मुनीबा अलि ४६ रनमा नटआउन रहिन्। उनले ३४ बलमा ८ चौका प्रहार गरेकी थिइन्।
बलिङतर्फ नेपालका लागि कविता जोशीले १ विकेट लिइन्। श्रीलंकाको डम्बुला स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभर खेल्दै ६ विकेट गुमाएर १०८ रन बनाउन सक्यो।
नेपालका लागि कविता जोशीले सर्वाधिक ३१ रन बनाइन्। उनले २३ बलमा ४ चौका प्रहार गरिन्।
सीता राना मगरले २६ रन बनाइन्। त्यस्तै, पूजा महतोले २५ कविता कुँवरले १३ र रुविना क्षेत्रीले ८ रनको योगदान दिइन्।
समूह ‘ए’मा रहेको नेपाल पहिलो खेलमा यूएईमाथि ६ विकेटले विजयी भएको थियो। नेपालले मंगलबार भारतसँग खेल्नेछ।