एजेन्सी । विद्यार्थीको आन्दोलनले तनाव बढेपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन्।
राजीनामा दिँदै प्रधानमन्त्री हसिनाले बंगलादेश छाडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। आइतबारदेखि हिंसात्मक प्रदर्शन चर्किएपछि प्रधानमन्त्री हसिनाले निजी विमानमार्फत भारत उडेको बताएको छ।
प्रधानमन्त्री हसिनासहित बहिनी शेख रेहानाले मुलुक छाडेका समाचारहरुमा उल्लेख छ।
यसैबीच गणभवन पुगेका प्रदर्शनकारीले विजयीभावमा उत्सव मनाइरहेका छन्। बंगलादेशी टेलिभिजन च्यानल २४ लाई उद्धृत गर्दै एएफपीले प्रधानमन्त्री निवासमा भिड जम्मा भएको जानकारी दिएको हो।
आइतबारदेखि बंगलादेशमा पुनः आन्दोलन चर्किएको थियो। अन्दोनल हिंस्रक बनेपछि आइतबार मात्रै ९६ जनाको मृत्यु भएको थियो।
सोमबार कम्तीमा पनि ४ लाख मानिस सडकमा उत्रिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
यसैबीच बंगलादेशका सेना प्रमुखले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन्। विद्यार्थीको आन्दोलन हिंस्रक बन्दै गरेपछि प्रधानमन्त्री शेख हसिनाले सोमबार राजीनामा दिएकी थिइन्।
राजीनामा दिँदै देश छाडेपछि बंगलादेशको सत्ता सेनाले हातमा लिएको छ। सत्ता हातमा लिएलगत्तै पत्रकार सम्मेलन गरेर सेना प्रमुख वाकर उज जमानले हिंसा अन्त्य गर्न आग्रह गर्दै अन्तरिम सरकार बनाउने घोषणा गरेका छन्।
उनले सबै दललाई बोलाएर अन्तरिम सरकारको तयारी भइरहेको जनाएका छन्।