एजेन्सी । गाजामा भएको इजरायली आक्रमणमा हमासका प्रमुख याह्या सिनवार मारिएका छन् । इजरायलले गरेको फिंगरप्रिन्ट्स् र डीएनए परीक्षणबाट सिनवार मारिएको पुष्टि भएको हो ।
इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले बिहीबार विज्ञप्ति जारी गर्दै सिनवारलाई गाजाको दक्षिणी भागमा करिब एक वर्ष लामो खोजपछि इजरायली सेनाको आक्रमणमा मारिएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।
इजरायली विदेशमन्त्री इजरायल काट्जले इजरायली सेनाको आक्रमणमा परी सिनवार मारिएको पुष्टि गरेका छन् । उनले यसलाई महत्वपूर्ण सैन्य उपलब्धिकोरुपमा समेत व्याख्या गरेका छन् ।
आईडीएफले इजरायलीमाथिको आक्रमणको मुख्य योजनाकार र धेरै इजरायलीहरूको हत्या र अपहरणको लागि जिम्मेवार रहेको जनाएको छ । सिनवारलाई गतवर्ष अक्टोबर ७ मा इजरायली भूमिभित्र भएको हमासको आक्रमणको प्रमुख योजनाकार भएको इजरायली दाबी छ । सो आक्रमणका क्रममा करिब ११३९ मानिस मारिएका थिए भने २०० भन्दा बढीलाई बन्धक बनाएर गाजातर्फ लगिएको थियो ।
सिनवार पछिल्लो दशकयता हमासको शीर्षस्थ नेतृत्वमा रहेर काम गर्दै आएका छन् । इजरायलसँगको द्वन्द्वका क्रममा गत जुलाईमा हमासका तत्कालीन प्रमुख इस्माइल हानिया मारिएपछि हमासले सिनवारलाई समूहको प्रमुख नेतामा चयन गरेको थियो । सन् २०२३ अक्टोबर ७ देखि हमास इजरायली सेनासँग लड्दै आएको छ ।
यो एक वर्षको अवधिमा हमास निकै कमजोर भइसकेको छ भने समूहका प्रमुख सिनवार समेत मारिएपछि हमासलाई झट्का लागेको छ ।