एजेन्सी । एक वर्ष लामो गाजा युद्ध युद्धविराम सम्झौतामा पुग्ने घट्दो सम्भावनाबाट निराश भएका केही इजरायली उद्यमीहरूले बन्धक रिहा गर्नेलाई आर्थिक पुरस्कार प्रदान गर्ने फरक मार्ग खोजेका छन् ।
सोडा स्ट्रिमका पूर्व सिइओ डेनियल बिर्नबामले सोमबार एएफपीलाई सामाजिक सञ्जाल एक्समा गाजाबाट जीवित इजरायली बन्धकलाई उद्धार गर्ने जो कोहीलाई एक लाख डलर नगद वा बिटक्वाइन दिने घोषणा गरेपछि करिब १०० वटा फोनकलहरू प्राप्त भएको बताएको छ । इजरायलमा आधारित सोडा कम्पनीका पूर्व अध्यक्षले आफ्नो प्रस्ताव बुधवार मध्यरात सम्म मान्य रहेको बताएको छ ।
बिर्नबामले अधिकांश कलहरू ठट्टा वा धम्की भएपनि त्यसमध्ये १० देखि २० वैध हुन सक्ने र थप प्रमाणिकरणका लागि इजरायली अधिकारीहरूलाई हस्तान्तरण गरिएको जानकारी दिएको छ ।
यति धेरै बन्धकहरुकाबीच हमाससँग सम्बद्ध नभएका केही नागरिकसँग बन्दीहरूको जानकारी हुनुसक्ने बिर्नबामले बताए ।
अक्टोबर ७ ,२०२३ मा हमासले गरेको इजरायली आक्रमणमा २५१ जनालाई बन्धक बनाइएका थिए । तीमध्ये ९७ जना अझै पनि गाजामा बन्दी रहेको इजरायली अधिकारीहरूले बताएका छन् ।
इजरायलको प्रतिशोधात्मक अभियानले अहिलेसम्म गाजामा कम्तिमा ४२ हजार ६०३ व्यक्तिको ज्यान लिएको छ, जसमध्ये अधिकांश आमनागरिक रहेको हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयको तथ्याकले जनाएको छ । “म सबैलाई फिर्ता पाउने आशा गरिरहेको छैन तर यदि हामीले एउटा मात्र बन्धक फिर्ता पायौँ भने म खुसी हुनेछु”, बिर्नबामले बताए ।
उनले यस विषयमा इजरायली सरकारबाट अनुमति नलिएको बताए । “मलाई लाग्छ वित्तीय पुरस्कारको तत्व निजी क्षेत्रबाट आउनुपर्छ, हेरौँ यसले काम गर्छ कि गर्दैन। हामीले अहिलेसम्म जे गर्यौ त्यसले केही काम गरिरहेको छैन ”, उनले भने ।