एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् । विजयी हुन २७० इलेक्ट्रोरल मत आवश्यक पर्नेमा केही स्थानको मतगणना बाँकी रहँदा नै ट्रम्पले २७० इलेक्ट्रोरल प्राप्त गरिसकेका छन् । कूल इलोक्ट्रोल कलेज पाँच सय ३८ मध्ये निर्वाचित हुनका लागि दुई सय ७० मत आवश्यक पर्छ ।
रिपब्लिकन पार्टीका उम्मेद्वार ट्रम्पले डेमोक्रयाट पार्टीका उम्मेद्वार कमला ह्यारिसलाई हराउँदै विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् । ट्रम्प विजयी भएको फक्सन्यूजले जनाएको छ ।
राष्ट्रपतिको निर्वाचनसँगै अमेरिकी संसदको दुवै सदन, सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभका लागि पनि निर्वाचन भएको छ । जसमा ट्रम्पको पार्टी रिपब्लिकनले सिनेट अर्थात् माथिल्लो सदनमा जित हासिल गरेको छ ।
७८ वर्षीय ट्रम्पले ऐतिहासिक कमब्याक गर्नुभएको छ । उहाँ सन् १८९३ मा ग्रोभर क्लिभल्यान्डपछि अमेरिकी राष्ट्रपतिका लागि दोस्रो पटक गैर–लगातार कार्यकाल पाउने दोस्रो व्यक्ति बनेका छन् ।
कूल २३ करोड १० लाख मतदानका लागि योग्य भएको भए पनि १६ करोड ८० लाखले मात्र मतदानका लागि नाम दर्ता गरेका थिए ।
यस अघि ट्रम्प सन् २०१७ देखि २०२१ सम्म राष्ट्रपति थिए ।