काठमाडौं । कोशी प्रदेश सरकारले विराटनगर किङ्सले एनपीएलको उपाधि जितेमा ३० लाख दिने घोषणा गरेको छ। विराटनगरका किङ्सका खेलाडीलाई मङ्गलबार राति बिदाइ गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजेता बनेमा ३० लाख पुरस्कार दिने घोषणा गरे।
नेपाल क्रिकेट सङ्घ क्यानले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग एनपीएलकोलागि कोशी प्रदेशबाट विराटनगर किङ्सले सहभागिता जनाउँदै छ।
मुख्यमन्त्री कार्कीले टोलीलाई जितको शुभकामना दिए। बिदाइ कार्यक्रममा मुख्यमन्त्री कार्कीले खेल क्षेत्रमा निजी क्षेत्रको सहभागिताले थप आकर्षण बढेको बताउँदै क्रिकेटबाट राष्ट्रिय मात्र हैन अन्तर्राष्ट्रिय पहिचान बनाउन सकिने उल्लेख गरे।
‘खेलकुद क्षेत्रमा प्रदेश सरकारको स्रोत साधनले भ्याएसम्म सहयोग गर्न सरकार तयार रहेको छ, मुख्यमन्त्री कार्कीले भने, आगामी दिनमा खेलकुदको विकासकालागि थप योजनाहरू अघि सारिनेछ।’ विराटनगर किङ्सका मुख्य प्रशिक्षक केभिन ओ ब्रायनले नेपाल प्रिमियर लिगमा आक्रामक खेलको प्रस्तुति दिने बताए।
प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदान मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म हुने छ।