काठमाडौं । लमजुङ बेंसीसहरमा आगामी पुस १२ गतेदेखि त्रिवेणी कप फुटबल प्रतियोगिताको ३२ औं संस्करण सुरु हुने भएको छ ।
बेंसीसहरको सहजीस्थित त्रिवेणी रंगशालामा ९ दिन प्रतियोगिता सञ्चालन हुनेछ । आयोजक त्रिवेणी युवा क्लव बेंसीसहरले प्रथम पुरस्कार राशि १२ लाख रुपैयाँ, त्रिवेणी कप, स्वर्णपदक र प्रमाणपत्र रहने जनाएको छ ।
गतवर्ष प्रथम पुरस्कार राशि ८ लाख रुपैयाँ रहेकोमा यसवर्ष बढाएर १२ लाख रुपैयाँ पुर्याएको आयोजक त्रिवेणी युवा क्लवका अध्यक्ष राजकुमार घिमिरेले बताए ।
उनका अनुसार दोस्रो पुरस्कार ६ लाख रुपैयाँ राखिएको छ । पुरस्कारमा करकट्टी हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सेमीफाइनलमा पराजित २ टिमलाई २/२ लाख रुपैयाँ प्रदान गरिने भएको छ । अनुशासित टिमलाई ट्रफी र प्रमाणपत्र साथै सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई २५/२५ हजार रुपैयाँ, स्वर्णपदक र प्रमाणपत्र प्रदान गरिने र क्वाटर फाइनलदेखि प्रत्येक खेलमा म्यान अफ दि म्याच प्रदान गरिने आयोजकले जनाएको छ ।
आयोजकले त्रिवेणी कप फुटबल प्रतियोगितामा टिमका लागि प्रवेश शुल्क निःशुल्क गरेको छ । क्वाटरफाइनलबाट आमन्त्रित टिमसमेत सहभागी हुनेछन् । यसमा विभागीयसमेतको नेपालका ‘ए’ डिभिजनका टिमहरु सहभागी हुनेछन् । आमन्त्रित टिम व्यवस्थापनमा मात्रै २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा कुल ८४ लाख ९० हजार रुपैयाँ खर्च हुने आयोजकले प्रक्षेपण गरेको छ ।