काठमाडौं । लुम्बिनी लायनस पहिलो संस्करणको नेपाल प्रिमियर लिगबाट बाहिरिने पहिलो टिम बनेको छ। लिगको छैठौं खेलमा बुधबार काठमाडौं गुर्खाजसँग १८ रनले पराजित भएपछि लुम्बिनी १ खेल बाँकी छँदै प्रतियोगिताबाट बाहिरिएको हो।
लुम्बिनीले ६ खेलमा १ जित मात्र निकाल्न सकेको छ। उसले एकमात्र जित चितवन राइनोजसँग निकालेको थियो।
यता, चौथो खेलमा दोस्रो जित निकालेसँगै काठमाडौंको प्लेअफ सम्भावना कायमै रहेको छ। पहिला ब्याटिङ गर्दै काठमाडौंले दिएको प्रतियोगिताकै सबैभन्दा सानो १०४ रनको लक्ष्य पछ्याएको लुम्बिनी ८५ रनमै अलआउट भयो। उसका लागि सन्दीप जोराले २६, उन्मुक्त चन्दले १४ र सूर्य तामाङले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
प्रतियोगिताकै सानो लक्ष्य डिफेन्ड गर्ने क्रममा दीपेश कँडेलले घातक बलिङ गरे। उनले ४ ओभरमा ६ रन मात्र खर्चेर ३ विकेट लिए। यस्तै, करण केसीले ४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए भने जेरार्ड इरास्मसले २ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको काठमाडौं गुर्खाज १९.३ ओभरमा १०३ रनमै अलआउट भयो।
काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३१ रन बनाए। उनले ४० बलमा १ चौका प्रहार गरे। यस्तै, प्रतिक श्रेष्ठले १४ बलमा २ छक्का मद्दतमा २० रन बनाउँदा डान डोथह्वाइटले २१ र स्टेफन स्किनाजीले १३ रन बनाए। अन्यले भने दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
काठमाडौंको इनिङ धरासायी बनाउने क्रममा साद बिन जाफरले ३ तथा रामोन सिमोन्ड्स र अविशेष गौतमले समान २ विकट लिए।