लमजुङ । लमजुङको पसगाउँमा १३ औँ पसगाउँ महोत्सव हुने भएको छ । समुद्री सतहदेखि १ हजार ६ सय ५० मिटरमा रहेको क्व्होलासोंथार गाउँपालिका वडा नं. ६, पसगाउँमा यही माघ २४ र २५ गते सो महोत्सव हुने भएको हो ।
यहाँ गुरुङ जातिको कला संस्कृति, भेषभूषा तथा भाषाको संरक्षण र संवर्द्धन गर्दै निम्नस्तर आय भएका जनताको आर्थिक एवम् सामाजिक जीवनस्तर उकास्ने अपेक्षाका साथ महोत्सव आयोजना गर्न लागिएको पसगाउँ सामुदायिक होमस्टेका अध्यक्ष बलराम गुरुङले बताए ।
गुरुङका अनुसार ग्रामीण पर्यटनको विस्तार गर्ने, लोक संस्कृतिको संरक्षण एवम् संवर्द्धन गर्ने, स्थानीय हस्तकला प्रर्दशनी गर्ने, पसगाउँलाई देश विदेशमा चिनाउने उद्देश्यले महोत्सवको सञ्चालन हुन लागेको छ । कृष्णचरित्र नृत्य, झयाउरे नाच, सारंगी नृत्य, घाँटु जस्ता लोपोन्मुख नृत्यहरुको लागि पसगाउँ परिचित छ । सिल्दु पूजा, छेदुपु पूजा, क्व्होम्रे पूजा, भवानी पूजालगायत विशिष्ट परम्परागत रीतिरिवाज रहेको पसगाउँ पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिएको प्राकृतिक शिवलिंग, भौं भौं ह्राब (बजाउने ढुंगा), सूर्योदय र सूर्यास्त अवलोकनका लागि क्व्होम्रेडाँडासहित ४ वटा प्रशिद्ध डाँडाहरु रहेका छन् ।
महोत्सवमा स्थानीय कला संस्कृति, हस्तकला तथा खाद्यान्नबाली प्रदर्शन गरिने भएको छ । पसगाउँका स्थानीय एवं क्व्होलासोंथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले भन्नुभयो, पसगाउँमा ढुंगाले छाएका घरहरु नै गाउँको मुख्य मौलिक विशेषता रहेको र हाल २१ घरमा घरवास (होमस्टे) सञ्चालनमा रहेका छन् । लमजुङ सदरमुकाम बेँसीसहरदेखि पालिका केन्द्र मालिङ, साल्मेभन्ज्याङ हुँदै पसगाउँ पुग्न सकिन्छ ।