काठमाडौं । नेकपा एमाले लमजुङ बेसिशहर नगर कमिटी अध्यक्ष राजकुमार विष्टलाई पत्नीशोक परेको छ । बेसिशहर नगरपालिका ११, चिति तिलाहर निवासी विष्टकी पत्नी शान्ताको ४० वर्षको उमेरमा शनिबार बिहान १ बजे निधन भएको हो ।
शान्ता कलेजोमा क्यान्सर रोगबाट पीडित थिइन् । उनको उपचारको क्रममा भक्तपुर क्यान्सर अस्पतालनमा निधन भएको हो । गत भदौमा डाक्टरले अप्रेशन गर्नुपर्ने सुझाव दिएपछि ज्वरो नघटेपछि अप्रेसन हुन सकेको थिएन ।
भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा लगिएकोमा अप्रेशन सम्भव नभएपछि माघ १७ गते नेपाल फिर्ता ल्याइएको थियो । उनलाई त्यसपछि भक्तपुर क्यान्सर अस्पतालमा भर्ना गरेर उपचार गराइराखिएको थियो ।
प्रतिनिधि सभा सदस्य एवं नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टीको संगठित सदस्य एवं अखिल नेपाल महिला संघमा अवद्ध भएर चिति क्षेत्रमा सक्रिय एक योद्धाको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको बताएका छन् । शान्ताको शनिबार बिहान पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
उनको शरीरमाथि नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । श्रद्धाञ्जली दिन पार्टी केन्द्रीय सदस्य कल्पना थापा, गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडी, पार्टीको गण्डकी–काठमाडौ सम्पर्क समन्वय कमिटी, लमजुङ–काठमाडौं समन्वय कमिटी पदाधिकारी, सदस्य, आफन्तजन, शुभचिन्तक पुगेका थिए । विष्ट दम्पत्तिका १ छोरा र १ छोरी छन् ।