काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षका लागि आज मनोनयन दर्ता हुने भएको छ। संघीय संसद् सचिवालयले यसका लागि आइतबार दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि प्रस्ताव दर्ता गर्ने समय निर्धारण गरेको छ।
संघीय संसद्को ल्होत्से हलमा प्रस्ताव दर्ताका लागि स्थान तोकिएको सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्ष चयन गर्न यही माघ २३ गते सोमबार दिउँसो १२ बजेका लागि मिति निर्धारण गरेका छन्।
आइतबार ४ बजेसम्म प्रस्ताव दर्ता गर्ने र अपराह्न ४ः१५ बजे उम्मेदवारीको सूचना दर्ता क्रमअनुसार सूची प्रकाशन गर्ने कार्यक्रम तय भएको छ। राष्ट्रियसभाको बैठकमा यही माघ २३ गते ‘उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी’ प्रस्तावक सदस्यले प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।
समर्थकले समर्थन गर्ने र उम्मेदवारीको प्रस्तावमा संक्षिप्त छलफल हुने र दर्ता क्रमअनुसार निर्णायार्थ पेस गरिनेछ। तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल सकिएपछि एक वर्षदेखि राष्ट्रियसभाको उपाध्यक्षको पद रिक्त छ।